Monday, January 25, 2016

संविधानबाटै सबै समस्याको समाधान : उपप्रधानमन्त्री थापा

उपप्रधान, परराष्ट्र तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधानबाटै जारी सबै समस्याको समाधान गर्न सकिने तर्क गरेका छन् । संविधान आँफैमा पूर्ण भएको कसैले दाबी गर्न नसक्ने भन्दै उनले काल, परिस्थिती र जनताको माग अनुसार परिवर्तन गर्दै जाने बताए । 

पनौती नगरपालिकाको २० औँ नगरपरिषद्को उद्धघाटन कार्यक्रममा बोल्दै उनले संविधान परिवर्तनीय विषय भएको बताए । ‘अब बन्दुक बोकेर जंगल पस्नुपर्ने अवस्था छैन, हिंसात्मक आन्दोलन गरिरहनुपनि पर्दैन,’ उनले भने, ‘नाकाबन्दी गरेर जनताको चुल्हो नबल्ने स्थिती बनाउनु पनि पर्दैन, जनतामा विश्वास नभएकाले मात्रै यसो गर्ने हो ।’ 

संविधानमा रहेको पूर्ण विचार तथा अभिव्यक्ति स्वतन्त्रता, आवद्यिक निर्वाचन, सहजै संशोधन गर्न सकिने प्रावधान र राजनीतिक दलमाथि प्रतिबन्ध नलाग्ने व्यवस्थाका कारण संविधान चित्त नबुझेपनि पार्टी खोलेर चुनाव मार्फत जनताको मत जित्न सकिने अवस्था रहेको दाबी गरे । राज्यको पुनर्संरचना र शासकीय स्वरुपका विषयमा दलहरुकाबीचमा मतभेद रहेको भन्दै समानुपातिक, समावेशी प्रतिनिधित्वका कारण संविधान अग्रगामी र प्रगतिशिल रहेको दाबी गरे । 

उनले संविधानसभाबाट संंविधान जारी गर्नु आँफैमा चुनौतीपूर्ण रहेको तर्क गरे । ‘राजसंस्था चाहिन्छ भन्ने राप्रपा नेपाल जस्तो पार्टी र जनवादी गणतन्त्र हुनुपर्छ भन्ने कम्युनिष्ट पार्टी, संघीयताको नामै सुन्न नचाहने जनमोर्चा र संघीयता नभई नहुने मधेशवादी लगायतका दल एउटै संविधानसभामा थिए,’ उनले भने, ‘हिन्दुराष्ट्र माग्ने र धर्मनिरपेक्षता त्याग्नै नसक्ने दलहरुकोबीचमा सहमति गरेर संविधान जारी गर्नु आँफैमा सहज विषय थिएन ।’ 

स्थानीय निकायको निर्वाचनको लागि गृहकार्य भइरहेको भन्दै उनले राजनीतिक दलहरुकोबीचमा सहमति हुने बित्तिकै मिति घोषणा गर्ने बताए । नगरपालिकाका कार्यकारी अधिकृत श्यामकुमार खड्काले आर्थिक वर्षको ८ करोड २७ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार प्रदिप केसी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो । 

No comments:

Post a Comment