Monday, January 25, 2016

ऋचालाई वृद्धा बन्दा

- ऋचा शर्मा, अभिनेत्री
 
नायिका भन्ने बित्तिकै सबैको ध्यानमा ग्ल्यामरस पाटोतर्फ जान्छ । मेरा अघिल्ला चलचित्रमा मैले निर्वाह गरेका भूमिकाहरू ग्ल्यामरस थिए, जुन चलचित्रका लागि आवश्यक पनि थिए । यसपटक भने मैले आफूलाई यस्तो भूमिकामा प्रस्तुत गर्ने अवसर पाएँ जसमा ग्ल्यामरसको ‘ग’ पनि छैन ।

चलचित्र हो ‘को आफ्नो’ । जब मलाई निर्देशक अनिल थापाले त्यस्तो भूमिकाका लागि प्रस्ताव गर्नुभयो, तब म निकै उत्सहित थिएँ । आफ्नो उमेरभन्दा झन्डै तेब्बर देखिनुपर्ने, त्यो पनि कुरूप ।
मलाई थाहा छ कि अधिकांश महिला आफूलाई सकेसम्म रूपवती देखाउन चाहन्छन्, तर मैले आफू जत्तिको सुन्दर छु, त्योभन्दा सय गुणा बढी कुरूप बन्नुपर्ने भयो । थापाले प्रस्ताव गर्दाको मेरो उत्साह त्यतिबेला सेलायो, जब छायांकनको पहिलो दिन मेकअप आर्टिस्ट दिपुले मलाई कुरूप बनाइदिए । मेरो मनमा आशंका उब्जियो, ‘के दर्शकहरूले मलाई यस्तो रूपमा रुचाउनु होला ?’ 

फेरि मनको अर्को कुनामा केही सकारात्मक विचारहरू उम्रिए । मैले अठोट गरेँ कि पर्दामा ‘को आफ्नो’ दर्शकलाई म त्यही ऋचा शर्मा हो भन्ने भावना नै आउन नदिने गरी भूमिकामा डुबेर अभिनय गर्छु । 
अनुहारमा दादुराको दाग स्वभाविक देखाउन हामी कोलोडयम एसिड प्रयोग गथ्र्यौं । एसिड हाल्दा पोल्थ्यो, तर त्यसले अनुहारमा दाग देखिँदा म खुसी हुन्थेँ । अगाडि उछिट्टिएको दाँत देखाउन मेरो दाँतको बाक्स निकाल्नुपर्ने भयो । त्यसपछि नक्कली दाँत हालियो जुन साह्रै दुख्थ्यो । अभ्यस्त हुँदै गएपछि छायांकन अवधिभर मलाई त्यो दैनिकीझैं लाग्न थाल्यो । 

छायांकनभरि दु:ख खेपेर भए पनि एउटी दु:खी बूढीको चरित्र निर्वाह गरिरहेँ । चलचित्रको प्रचार सामग्री तथा ट्रेलर आएपछि प्राप्त प्रतिक्रियाबाट म उत्साहित छु । फागुन ७ गते नेपालभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘को आफ्नो’मा मैले जीवनमै नगरेको भूमिका निर्वाह गर्ने चुनौतीपूर्ण अवसर पाएकी छु । २१ वर्षीया कुरूप युवतीदेखि ४८ वर्षीया महिलाको भूमिका एउटै चलचित्रमा निर्वाह गर्ने यो अवसरलाई मैले सकेसम्म साकार गर्ने प्रयत्न गरेकी छु । हालै अमेरिकामा भएको प्रिमियरमा दर्शकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले म अत्यन्तै उत्साहित छु । नेपालका दर्शकहरूले पनि मलाई यो भूमिकामा रुचाउनुहुनेछ भन्ने विश्वास छ ।

No comments:

Post a Comment