Wednesday, January 27, 2016

देश छाड्नेहरूको उदेकलाग्दो लर्को

गएको मंसिर महिनामा श्रम विभागबाट ३८ हजार ३ सय ५० जनाले वैदेशिक रोजगारीका लागि ‘श्रम स्वीकृति’ लिए । सोही महिना शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट अब्रोड स्टडीका नाममा ३ हजार १ सय २५ जना विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । यो तथ्यांकले देखाउँछ, कुनै न कुनै बहानामा नेपाली युवाहरू देश छाड्न लालायित छन् । 

अब अर्को पाटो हेरौं । नेपालमा करिब दर्जनजति विश्वविद्यालय छन् र तिनका मातहातमा सयौं शिक्षण संस्था छन् । यी शिक्षण संस्थाहरूमा छानीछानी कुनै पनि विषय अध्ययन गर्न सकिन्छ । यता, नेपालको श्रम बजारमा ठूलो संख्यामा जनशक्तिको अभाव छ । एक अनुमानअनुसार भूकम्पले ध्वस्त संरचनाको पुनर्निर्माणमा मात्र ३० लाख जनशक्तिको खाँचो पर्छ । 

यसको निष्कर्ष हो– शिक्षाको पर्याप्त अवसर हुँदाहँुदै ‘पढ्नका लागि’ र स्वदेशी श्रमबजारमा जनशक्तिको अभाव हुँदाहुदै पनि ‘कामको खोजीमा’ युवाहरू बिदेसिँदैछन् । किन यस्तो भैरहेको छ ?
यसलाई मिहिन रूपमा केलाउने हो भने नतिजा भयानक निस्कन्छ । पछिल्लो समय बिदेसिने प्रवृत्तिले ‘स्वदेशप्रतिको बढ्दो विकर्षण’लाई संकेत गर्छ । राजनीतिक अराजकता, अस्थिर सरकार, सुस्त विकास–निर्माण, बढ्दो महँगी, मौलाउँदो भ्रष्टाचार, इन्धन अभाव, लोडसेडिङजस्ता थुप्रै तत्त्वले युवाहरूमा आफ्नो मुलुकको स्थितिप्रति नै वितृष्णाभाव पैदा गरेको मनोविज्ञ कुरुणा कुँवरको विश्लेषण छ । 

मनोविज्ञ कुँवरको भनाइ र अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका अमर प्रसाईंको बुझाईमा समानता छ । मानवशास्त्रमा स्नातकोत्तर गरेर केही वर्षअघि अमेरिका भासिएका प्रसाईं भन्छन्– ‘हामी सुख खोज्दै यहाँ आएका होइनौं । जब देशभित्र आर्थिक असुरक्षा महसुस हुन्छ, तब बिदेसिनुपर्ने बाध्यता हुन्छ ।’ समाजशास्त्री विष्णु राई भन्छन्– ‘धेरैजसो आफ्नो भविष्य सुनिश्चित गर्न बिदेसिएको पाइन्छ, चाहे त्यो शारीरिक श्रम गर्ने होस् वा बौद्धिक ।’ 

मास्लोको एउटा सिद्धान्तले भन्छ– ‘मान्छेले हरेक तहमा सुरक्षाको प्रत्याभूति खोज्छ ।’ यसैलाई आधार मान्दै मनोविज्ञ कुँवर ‘असुरक्षाका कारण बिदेसिने क्रम बढेको’ निष्कर्ष निकाल्छिन् । आर्थिक तथा सामाजिक सुरक्षाको खोजी गर्दै नेपालीहरूले स्वदेश छाडिरहेको उनको भनाइ छ । मनोविज्ञ कुँवर भन्छिन्– ‘अहिलेको परिस्थितिले गर्दा नेपालमा केही हुँदैन भन्ने मनस्थिति प्रबल बन्दै गएको देखिन्छ ।’ विदेशको आकर्षणले तानेर भन्दा पनि देशको स्थितिप्रतिको वितृष्णाले धेरैजसो ‘विदेसिने मनस्थितिमा’ पुगेको पाइन्छन् । 

कुन समयमा कति युवा बिदेसिए भन्ने तथ्यांकहरूले कुँवरको भनाइलाई थप पुष्टि गर्छ । अंक गणितीय हिसाबले हेर्दा पनि माओवादी द्वन्द्व र त्यसयताको राजनीतिक उतारचढाव एवं सामाजिक विशृंखलताले धेरै नेपालीलाई विदेशतर्फ धकेलेको छ । मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण उत्पन्न संकटले पनि धेरैलाई बिदेसिन बाध्य तुल्याएको पाइन्छ । 

ठमेलमा व्यवसाय गरेर बस्ने ज्योति दाहाल भन्छिन्– ‘नाकाबन्दीले व्यापार चौपट भयो । अब नेपालमा बस्नुभन्दा विदेश जानु ठीक हुन्छ । कम्तीमा करियर त सुरक्षित हुन्छ ।’ ज्योति विद्यार्थी भिसामा चीन जाने तरर्खरमा छिन् । 

स्वदेश छाड्नुको पछाडि मूलत: दुई किसिमको प्रवृत्ति देखिने विज्ञहरूको भनाइ छ । पहिलो त विदेशको आकर्षणले तानेर र दोस्रोचाहिँ देशको स्थितिप्रतिको वितृष्णाले धकेलेर । धन–वैभव, सुख–सयल, उन्नत जीवनशैली, स्तरीय शिक्षा आदिको आकर्षणले कतिपयलाई स्वदेश छाड्ने हुटहुटी जाग्छ । त्यसैगरी कतिपयलाई चाहिँ गरिबी, दु:ख, असुरक्षा, अभावजस्ता कुराले धकेलेर विदेश पुर्‍याउँछ । अहिले बिदेसिनेहरूमा दोस्रो प्रवृत्ति बढी पाइएको छ । 

‘न रोजगारी छ, न अवसर छ । कुनै सिस्टम छैन । जता हेर्‍यो उतै लथालिंग छ,’ झापाका सञ्जीव प्रसाईं प्रश्न गर्छन्– ‘यहाँ बसेर के गर्नु ?’ सिनामंगलस्थित अल सेक्युर मेन पावर कम्पनीमा भेटिएका सञ्जीव दुबई जाने तयारीमा थिए । नेपालमा रोजगारीका लागि नेताहरूलाई गुहार्नुपर्ने, रोजगारी पाए पनि त्यसले जीवन धान्नै गाह्रो हुने, चकडी–चाप्लुसी गर्नुपर्ने जस्ता निष्कर्ष निकाल्दै सञ्जीव विदेशी श्रम बजारमा लम्कन लागेका हुन् । 

विद्यार्थी र श्रम भिसामा मात्र होइन, ‘भ्रमण भिसा’ एवं अन्य बहानामा बिदेसिनेहरूको लस्कर उत्तिकै उदेकलाग्दो छ । यो लस्करमा कर्मचारीदेखि कलाकारसम्म, चिकित्सकदेखि बिमान चालकसम्म छन् । मुलुकको दुरावस्थाले श्रमशक्ति र बौद्धिक जनशक्ति पलायनको होडबाजी चलेको छ । ‘भविष्यका कर्णधार’ भनिने विद्यार्थीहरू पढ्नका लागि विदेश पुग्ने र उतै बस्ने प्रवृत्ति उत्कर्षमा छ । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष राजेन्द्र बराल ‘विदेश पढ्न जान चाहने विद्यार्थीहरूको चाप बढेको’ बताउँछन् । अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा ३० हजार ६ सय ९६ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएको शिक्षा मन्त्रालय नो अब्जेक्सन लेटर विभागका प्रमुख प्रकाश महर्जनले बताए । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । उक्त आर्थिक वर्षमा अध्ययनका लागि विदेश जाने विद्यार्थीवाट राष्ट्र बैंकमार्फत सर्वाधिक रकम सटही भएको तथ्यांक छ । त्यस अवधिमा ११ अर्ब ८० करोड ९८ लाख रुपैयाँबराबरको विदेशी मुद्रा सटही भएको थियो । 

भूकम्प, नाकाबन्दीजस्ता कारणले ‘नेपालीहरूको प्रतिव्यक्ति आय घटेको तथा आर्थिक स्रोत कमजोर बनेको’ भन्दै विदेशले नेपाली विद्यार्थीलाई भिसा दिन कञ्जुस्याइँ गर्न थालेको छ । त्यसैले तुलनात्मक रूपमा भिसा प्राप्त गर्नेहरूको संख्या विगतमा भन्दा बढी छैन । अनौठो चाहिँ के छ भने यो अवस्थामा पनि विदेश जान चाहनेहरूको संख्या भने अनपेक्षित ढंगले बढेको छ । ‘विविध कारणले गर्दा भिसा प्रक्रिया कठिन हुँदै गएको छ,’ अध्यक्ष बराल भन्छन्– ‘तर त्यसको ठीक विपरीत विदेशमा पढ्न चाहने विद्यार्थीहरूको चाप बढेको छ ।’ 
म्यानपावरदेखि राजदूतावाससम्म लस्कर 

केशरमहलस्थित शिक्षा मन्त्रालयको परिसरभित्रको छात्रवृत्ति शाखामा हेरौं वा त्यस बाहिरको राहदानी विभागमा पुगौं, तन्नेरीहरूको लामो लस्कर देखिन्छ । यिनीहरूको बाटो र गन्तव्य फरक भए पनि मनोदशा एउटै भेटिन्छ, स्वदेश छाड्ने । 

सहरी क्षेत्रका एजुकेसन कन्सल्टेन्सी, म्यानपावर कम्पनीमा दिनहुँ लाग्ने भीड र विभिन्न मुलुकका राजदूतावासको प्रांगणमा लामबद्ध ताँती देख्दा यस्तो लाग्छ, ठूलो संख्यामा युवापुस्ताले स्वदेश छाड्दैछन् । दिनहुँ औसत १ हजार ५ सय युवा ‘श्रम भिसा’ बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट बाहिरिन्छन् । यस्तै लस्करमा विद्यार्थी भिसा बोक्नेहरू पनि मिसिन आइपुग्छन् । एक तथ्यांक अनुसार हालसम्म करिब ३० लाख युवा बिदेसिइसकेका छन् । यसरी विभिन्न भिसा च्यापेर बिदेसिनेमध्ये कति स्वदेश फर्किए ? त्यसको तथ्यांक कसैसँग छैन । श्रम भिसामा मलेसियालगायत खाडी मुलुक जानेहरूमा पटक–पटक बिदेसिने प्रवृत्ति देखिन्छ । कतिपय उतै हराएका छन् । निश्चित अवधिका लागि पढ्न गएकाहरू पनि विदेश पुगेपछि नेपाल फर्कदैनन् । ‘कति फर्किए वा फर्किएनन् भन्ने कुनै जानकारी हुँदैन,’ इक्यानका अध्यक्ष बराल भन्छन्–‘त्यसको हिसाब–किताब कस्ले राख्ने ?’ अध्ययनका लागि विदेश पुग्ने र नफर्कने प्रवृत्ति भने बढिरहेको उनी स्वीकार गर्छन् । 

यता डाइभर्सिटी भिसा र अन्य प्रकियामार्फत अमेरिकालगायत तेस्रो विश्व पुग्न लालायितहरूको चाप पनि कम छैन । अरूको कुरा छाडौं, नेपाली समाजमा प्रतिष्ठा कमाएका, राम्रै आयआर्जन भएका, व्यापार–व्यवसाय चलाएकाहरूसमेत यसमा सामेल छन् । यसरी थुप्रै नेपाली कर्मचारी, साहित्यकार, पत्रकार, कलाकार तथा खेलाडीहरूले स्वदेश छाडेका छन् । 

केही समयअघि तत्कालीन प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी सेवामै रहेर पनि अमेरिकालगायतका ग्रिन कार्ड लिने कर्मचारीहरूको नामवाली सार्वजनिक गरेका थिए । त्यसमा सामान्यदेखि उच्च ओहदाका कर्मचारीहरूसमेत छन् । 
चरम वितृष्णा 

माओवादी सशस्त्र द्वन्द्वको समाप्ती, गणतन्त्र स्थापना, संविधानसभाको निर्वाचनजस्ता राजनैतिक परिवर्तनहरूपछि मुलुकको गतिरोध क्रमश: अन्त्य हुँदै जानेछ र समृद्धिका पालुवाहरू पलाउनेछन् भनेर धेरैले आशा राखेका थिए । यद्यपि त्यस्तो भएन । राजनीतिक अराजकता झन्–झन् चर्कंदै गयो । अर्थतन्त्र थिलथिलो भयो । महँगी र अभावले आमनागरिकलाई थप आक्रान्त पार्दै लग्यो ।

यसो हुनुको पछाडि अस्थिर राजनीति बढी जिम्मेवार देखिएको विज्ञहरूको टिप्पणी छ । त्यसमाथि थपियो विनाशकारी भूकम्प । गत वैशाखको भूकम्पले भौतिक संरचना त ध्वस्त बनायो नै, त्यसले मुलुकमा गम्भीर आर्थिक संकटसमेत निम्त्यायो । यसैको कारण कति रोजीरोटी खोसियो, कतिको उद्योग–व्यवसाय चौपट भयो । लगत्तै जारी भएको मधेस आन्दोलन र त्यसैको बहानामा भएको भारतीय नाकाबन्दीले दैनिक जीवनयापनमै संकट पैदा गर्‍यो । यसरी ‘गरिखाने अवस्था नभएपछि’ स्थानीय युवाहरू लाखापाखा लाग्न थाले । 

‘ऋणपान गरेर बंगुर फर्म खोलेको थिएँ,’ चितवन माडीका निराजन भट्टराईको दुखेसो थियो– ‘सबै बर्बाद भयो ।’ ग्रामीण विकासमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेर गाउँमै कृषिकर्ममा लागेका भट्टराई पछिल्लो घटनाक्रमले आफू आर्थिक रूपमा टाट पल्टिएको बताउँछन् । ‘पढेर जागिर खाउँ भने नेताको पछि लाग्नुपर्ने,’ निराजनले थपे– ‘आफैं केही गरौं न त भन्दा पनि त्यसको भविष्य सुरक्षित नहुने ।’ यस्ता बाध्यताले लखेटेरै धेरैलाई विदेश पुर्‍याएको उनको तर्क छ । 

‘हरेक क्षेत्रमा असुरक्षाका कारण युवाहरूमा केही गर्ने जोस–जाँगर सेलाउँदै गएको’ मनोविज्ञ कुँवर बताउँछिन् । ‘मानिसलाई असुरक्षाले लखेट्ने हो,’ कुँवर भन्छिन्– ‘अहिले नेपाली युवाहरू त्यही लखेटाइमा परेका हुन् ।’ यस्तो अवस्थामा सुरक्षित स्थानको खोजी गर्दै हिँड्नु आम मानवीय प्रवृत्ति नै हो । 

अहिले युवा सर्कलमा ‘देश खत्तम भयो, यहाँ बसेर केही हुँदैन’ भन्ने मनोवृत्ति प्रबल भएर गएको छ । मुलुकमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक संकटले युवामनमा वितृष्णाभाव पैदा गरेको छ । परिणामत: सुरक्षित भविष्यका लागि जो–कोही कुनै न कुनै बहानामा बिदेसिन चाहन्छन् । यसरी आफ्नो मुलुकप्रतिको विकर्षणले युवा पलायन हुनु आफैंमा गम्भीर समस्या रहेको र यसले मुलुकलाई वर्षौं पछाडि धकेल्ने समाजशास्त्रीहरूको टिप्पणी छ । केहि वर्षअघि राष्ट्रसंघीय निकाय ‘युनाइटेड नेसन्स कन्फरेन्स अन ट्रेड एन्ड डेभलोपमेन्ट’ले सार्वजनिक गरेको एक प्रतिवेदनले अतिकम विकसित मुलुकहरूको आर्थिक वृद्धिमा बौद्धिक पलायनले नकारात्मक असर परिरहेको तथ्य बाहिर ल्याएको थियो । नेपालसहित कम विकसित ४८ वटा मुलुकबाट २० लाख बौद्धिक जनशक्ति पलायन भएको उक्त रिपोर्टमा उल्लेख थियो । 

‘हाम्रो बौद्धिक जमात, श्रमशक्ति सबै विदेशीले तानिरहेका छन्,’ समाजशास्त्री राई भन्छन्– ‘यसरी हामीले ठूलो बौद्धिक तथा श्रमिक स्रोत गुमाउँदै गएका छौ ।’ यसले राज्यलाई ठूलो आर्थिक तथा सामाजिक नोक्सान पुग्ने राईको ठम्याइ छ ।
बिदेसिने प्रवृत्तिलाई रोक्नुपर्छ
लालबाबु पण्डित , पूर्वसामान्य प्रशासनमन्त्री


अहिले धेरै नेपाली दाजुभाइ घरखेत, श्रीमती र आमाका गरगहना बेचेर, महँगो ब्याजमा ऋणपान गरेर विदेश गैरहेका छन् । यो उनीहरूको बाध्यता हो, त्यसलाई रोक्नुपर्छ भनेर म भन्दिनँ । नेपाली अर्थतन्त्रमा तिनै बिदेसिएकाहरूबाट प्राप्त रेमिट्यान्सले ठूलो योगदान गरिरहेको छ । यसो भन्दैमा बिदेसिने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्छ भन्ने होइन । यसलाई विशेष योजनामार्फत निरुत्साहित गर्दै मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । युवाहरूमा छाएको निराशालाई आशामा परिणत गर्नुपर्छ ।
यसका निम्ति मैले मन्त्री छँदा एउटा १० वर्षे कार्ययोजना ल्याएको थिएँ । अहिले त्यो सदनमा छलफल भैरहेको छ । उक्त योजनाअनुसार मैले ‘श्रम बैंक’ को अवधारणा ल्याएको छु । विशेषत: वैदेशिक रोजगारीमा जानेहरूलाई त्यही श्रम बैंकले आवश्यक पैसा लगानी गरिदिन्छ । उसले विदेश गएर आफ्नो पारिश्रमिकबाट किस्तामा बैंकको लगानी चुक्ता गर्नुपर्ने हुन्छ भने आफूले कमाएको पैसासमेत त्यही बैंकमा जम्मा गर्न सकिन्छ । यसले विदेशमा गरिने फजुल खर्च पनि कम हुन्छ र रेमिट्यान्स पनि दलालको हातमा नगै वैधानिक बाटोबाट मुलुकमा आउँछ । 

जब विदेश गएका युवा काम सकेर नेपाल फर्कन्छन् उसलाई कुनै उद्यम गर्न बैंकले नै थप लगानी गरिदिन्छ । किनभने उसले विदेशमा गएर श्रमको मूल्य बुझेर आएको हुन्छ । हातमा केही सीप आर्जन गरेको हुन्छ । त्यही अनुभवका आधारमा उसले स्वदेश फर्किएर कुनै न कुनै किसिमको उद्यम गर्न सक्छ । उसलाई अतिरिक्त लगानी आवश्यक भए श्रम वैंकले नै त्यो उपलब्ध गराउँछ । यसले बिदेसिने प्रवृत्तिलाई क्रमश: न्यूनीकरण गर्दै स्वदेशमै रोजगारी तथा उद्यमको अवसर सिर्जना गर्छ । नेपालीहरू बिदेसिने प्रवृत्ति संस्कारकै रूपमा विकास भएको पाइन्छ । यहाँ काम नपाएर वा अवसरबाट वञ्चित भएर मात्र होइन, पर्याप्त सेवा–सुविधा उपभोग गरिरहेकाहरू पनि बिदेसिन मरिहत्ते गरिरहेका छन् । मैले यस्तै प्रवृत्ति रोक्ने प्रयास गरेको हुँ ।

आर्थिक तथा सामाजिक असुरक्षाले बिदेसिए
राजेन्द्र बराल, अध्यक्ष, शैक्षिक परामर्श संघ (इक्यान)


स्वदेशमै स्तरीय पढाइ हुने, पढाइपछि रोजगारीको अवसर प्राप्त हुने र योग्यताअनुसारको पारिश्रमिक मिल्ने भए सम्भवत: विदेशको बाटो ताक्नुपर्दैनथ्यो । अनुसन्धानमा आधारित एवं व्यवसायिक शिक्षा नहुनुजस्ता थुप्रै कारणले नेपाली विद्यार्थीलाई बिदेशिन बाध्य बनाएको छ । त्यसमाथि अहिलेको राजनीतिक संकट, आर्थिक मन्दी, अनियन्त्रित महँगीजस्ता कुराले यसमा थप बल पुर्‍याएको छ । नाकाबन्दी, मधेस आन्दोलन, भूकम्पजस्ता कारणले उत्पन्न संकटले गर्दा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको चाप ह्वात्तै बढेको छ । ‘नेपालमा भविष्य असुरक्षित हुने भयो’ भन्दै विदेश जान चाहनेहरू अहिले जुनसुकै कन्सल्टेन्सीमा देख्न सकिन्छ । 
पछिल्लो राजनीतिक संक्रमणले गर्दा नेपाली युवाहरूको स्वदेश मोह भंग भएको छ । उनीहरूलाई देशमै बसेर केही गर्नुपर्छ भन्ने भन्दा पनि कसरी आफ्नो भविष्य सुरक्षित गर्ने भन्ने चिन्ता बढी छ । यो स्वभाविक कुरा पनि हो । अहिले व्याप्त संक्रमणले धेरैलाई ‘असुरक्षा’ महसुस भएको छ । उनीहरू सुरक्षित भविष्य खोज्दै बिदेसिने हतारोमा छन् । 

समस्याचाहिँ के छ भने, अहिले विदेश जान चाहने विद्यार्थीको जुन चाप छ, त्यसअनुरूप भिसा प्राप्त हुने दर कम छ । भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन आदिका कारण नेपालीको प्रतिव्यक्ति आय घटेको, आर्थिक स्रोत कमजोर भएको कारणले भिसा प्रक्रिया कठिन बनाइएको छ । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष विद्यार्थीको चाप बढे पनि भिसा पाउनेहरूको संख्या बढेको छैन ।

विदेशमा कस्ता विद्यार्थी पढ्न जान्छन् त ? यसमा तीन किसिमको प्रवृत्ति देखिएको छ । एक खाले विद्यार्थी छन्, जो सम्पूर्ण खर्च बेहोरेर विदेशी डिग्री हासिल गर्न चाहन्छन् । यस्ता विद्यार्थीले भिसा प्राप्त गर्ने सम्भावना बढी हुन्छ । दोस्रो थरी मध्यमवर्गीय परिवारका छन् । उनीहरू त्यहीं कमाउँदै पढ्ने मनस्थितिमा हुन्छन् । तेस्रो किसिमका विद्यार्थीचाहिँ पढ्ने बहानामा काम गर्ने र कमाउने सोचमा रहेका पाइन्छन् । यस्ता विद्यार्थीहरू स्टुडेन्ट भिसामार्फत विदेश गएर कमाउने तथा पिआर लिने मनस्थितिमा हुन्छन् । 

आर्थिक तथा सामाजिक असुरक्षाले बिदेसिए
करूणा कुँवर, मनोविज्ञ


हामीले देखिरहेका छौं, अहिले बिदेसिने क्रम ह्वात्तै बढेको छ । कोही पढ्नका लागि, कोही कामका लागि त कोहीचाहिँ उतै स्थायी बसोबासको व्यवस्थासहित बिदेसिँदै छन् । यसरी बिदेसिने मनोवृत्तिका पछाडि धेरै कारण जोडिएर आउँछन् । कोही विदेशको उच्च जीवनशैली, स्तरीय शैक्षिक प्रमाणपत्र, आकर्षक पारिश्रमिकजस्ता कुराले तानिएका छन् । त्यस्तै, कोहीचाहिँ यहाँको जटिल परिस्थितिले गर्दा बिदेसिनुपर्ने बाध्यतामा छन् । यी दुवैको समानता के हो भने उनीहरूले यहाँ आर्थिक तथा सामाजिक सुरक्षा महसुस गर्न सकेका छ्रैनन् । 
जब मानिसलाई आफ्नो भविष्य असुरक्षित लाग्छ, उसले विकल्पको खोजी गर्छ । नेपालीहरू बिदेसिनुको पछाडि यस्तै मनोविज्ञानले काम गरेको छ । नेपालको राजनीतिक अवस्था, आर्थिक मन्दी, महँगी, भ्रष्टाचार, चरम गरिबी जस्ता कुराले स्वदेशप्रति विकर्षण र विदेशप्रतिको आकर्षण बढाएको छ । 

हरेक कुराबाट भाग्ने प्रवृत्ति पनि यसमा जिम्मेवार छ । कुनै समस्याको सामना गर्नुभन्दा त्यसबाट भाग्ने मानवीय प्रवृत्तिले पनि बिदेसिने दर बढाएको हुनुपर्छ । यसमा ‘नेपालमा बसेर केही गर्न सकिँदैन’ भन्ने खालको वितृष्णाभावसमेत पाइन्छ । यहाँ केही छैन, रोजगारी पाइँदैन भन्ने खालको असुरक्षाको भावनाले धेरैलाई लखेटेको छ । युवाहरू ‘थ्रेड र फेयर’ महसुस गरेर बिदेसिएका छन् । यसको प्रभाव एकदमै नकारात्मक हुन्छ । 

ग्रामीण क्षेत्रबाट धेरै मानिस विदेशको श्रम बजारमा भासिएका छन् । यसले उनीहरूको परिवारमा सामाजिक विचलनसमेत ल्याएको पाइन्छ । कतिका श्रीमान् वा श्रीमती उतै हराएका छन्, कसैको मृत्यु भएको छ, कोही अंगभंग भएका छन्, कतिले अपेक्षित कमाइ गर्न सकेका छैनन् । यी कारणले गर्दा नेपालमा बस्ने तिनको परिवारमा चिन्ता, डिप्रेसनजस्ता मानसिक विचलन देखिन थालेको छ ।


No comments:

Post a Comment